ट्रम्प र बाइडनबीच पहिलो बहस सम्पन्न


ट्रम्प र बाइडनबीच पहिलो बहस सम्पन्न

अमेरिकामा राष्ट्रपति निर्वाचन आउनै लाग्दा दुई उम्मेदवारहरूबीच सोमवार राति बहस सम्पन्न भएको छ ।राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडनले एकअर्काको बेइज्जती गरे तर आफ्नो कार्यकाल कस्तो हुनेछ भन्ने कुनै संकेत दिएनन् ।

यो बहस अत्यन्तै रद्दी रह्यो किनकि यसबाट दुई उम्मेदवारका विषयमा नयाँ कुरा केही पनि थाहा पाइएन र राष्ट्रपति बनेमा के गर्नेछन् भनेर पनि जनताले थाहा पाएनन् ।

ट्रम्पलाई निर्वाचनको दिशा परिवर्तन गर्नका लागि यी बहसहरू आवश्यक छन् । उनी बहसमा हावी नभएमा चुनाव हार्ने सम्भावना पनि रहन्छ ।

त्यसैले बहसमा ट्रम्प हावी भए र त्यसक्रममा उनले बाइडन अनि कार्यक्रम प्रस्तोता क्रिस वालेस दुवैलाई क्षणक्षणमा हेप्ने, बीचैमा रोक्ने र उत्तेजित बनाउन खोज्ने काम गरे ।

यसले उनका समर्थकलाई पक्कै खुशी बनायो । तर उनीहरू ट्रम्पलाई भोट दिन यस्ता बहस कुरि बस्दैनन् ।

घरिघरि बीचैमा बोल्न नदिँदा बहस बेकामे बन्यो । ट्रम्पले गर्दै नगरेका कुरा पनि गरें भनी दाबी गरे अनि आफ्नो र बाइडनको विषयमा झूटा बयान दिए । उनले प्राउड बोइज र अन्य श्वेत सर्वोच्चतावादी समूहहरूलाई निन्दा गर्न मानेन् ।

बाइडनले बहसको आरम्भ सुस्त किसिमले गरे । निर्वाचनअघि सर्वोच्च अदालतको रिक्त पद किन नभर्ने भन्ने प्रश्नको उत्तर उनले राम्ररी दिन सकेनन् जबकि उक्त प्रश्न पक्का आउनेछ भन्ने उनलाई थाहा थियो ।

बहस चल्दै जाँदा उनी आत्मविश्वासी बने अनि ट्रम्पले कोरोना व्यवस्थापन गर्न नसकेकाले धेरै अमेरिकीले ज्यान गुमाउनुपरेको कुरा दह्रोसँग राखे । तर पछि उनी ट्रम्पकै स्तरमा ओर्लिए अनि ट्रम्पलाई चुप लाग्नुस् भने अनि विदूषक समेत भने ।

बाइडन मर्यादित छन् भन्ने छवि यसले भत्कायो । ट्रम्पको अव्यवस्था र मर्यादाहीन कार्यकालको विपरीत बाइडनको कार्यकाल हुनेछ भन्ने आकलन यसले भत्काइदियो ।

अनि बाइडनले पनि ट्रम्पले जस्तै दोषारोपण गर्ने र हावादारी दाबी गर्ने काम गरे ।

अब अझै दुईवटा बहस बाँकी छन् । यो बहस हेर्दा त अबका बहस के हेर्नु र जस्तो लाग्ने रहेछ । बाइडनलाई ट्रम्पले काँचै खाएको पहिलो बहस हेरेकाहरूले थप दुई बहसमा उनलाई उभ्याउनुको तुक देख्ने छैनन् ।

राष्ट्रपतीय बहस आयोग शक्तिशाली संगठन हो । यी बहसहरूले मतदाताको ध्यान आकर्षित गर्छन् भन्ने कुरा उम्मेदवारहरूलाई थाहा हुन्छ । तर आजको बहस हेर्दा यस्ता बहस गरिराख्दा मतदातालाई हानि गर्ने पो हो कि भन्ने देखिन्छ । यस्ता उम्मेदवारहरूलाई सुनेर भोट दिने विषयमा मन बनाउन समेत मतदाताहरूलाई गाह्रो पर्नेछ । सिएनएन


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...