Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

उल्टो घुम्ने घडीको निसानाभित्रका जनता !


उल्टो घुम्ने घडीको निसानाभित्रका जनता !

समाज र मुलुकको गतिलाई व्यवस्थित तुल्याउन विचार र व्यवहार दुवै कुरा पारदर्शी हुनुपर्छ । आज समाजको घडीको सुई उल्टो घुमेपछि चाङमाथि चाङ समस्या बढेका छन् । यसकारण जनताले ‘राजतन्त्र ठीक कि लोकतन्त्र ?’ भन्दै छन् । विद्वत् वर्गहरू राजतन्त्रलाई निरङ्कुश हो भन्ने कारण र दोष खोतलेर सकेसम्म जनतालाई राजतन्त्रको वकालत गर्नुलाई मूर्खताको संज्ञा दिन हात धोएरै लागेका छन् । कतिपय नेतृत्व तहमा जनतालाई सडकमा देखेर भय बढेको भान हुन्छ । यसलाई बेलायती राजतन्त्रको फितलो संज्ञा दिन मन हुँदो हो तर जे होस् यो सबै अस्थिरताको मूल कारण अहिले सत्तारूढ दलभित्रको सत्तास्वार्थको कुर्सीप्रेमी गुटगत युद्ध मात्रै हो ।

हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘महापुरुषको सङ्गत’ निबन्धमा भेटेका महापुरुषहरू जसरी नै आज जनताले असल नेताको खोजी गर्नुपर्ने दिन आएको छ । निबन्धकारले त्यहाँ लम्बरी पण्तिले धेरै मोल आए गोरु बेच्ने नत्र बाहुनले गाई–गोरु बेच्नु नहुने भनेजस्तो अर्थात् महास्वार्थी मात्रै नभएर आफ्नो बखान आफैँ गर्दै हिँड्ने नामचाहिँ सद्गुणानन्दजस्तो सोच भएका नेतृत्वले राजनीति कलुषित छ । आठजना पात्रमध्ये ‘बुहारीको जिउ होस् या त बिरालीको घिउ’ जे बेचेर भए पनि पैसा नै कमाउने कालु साहु, यौनभोगी पण्डित गोपी गुरु, यसो विदेश पसिसक्दा भाषा र संस्कृति बिर्सने दाहाल बाबु भन्ने मान्छे स्वदेश फर्किसक्दा ‘मिस्टर ड्याल बाउ’ भएर आएका लगायतका गज्जबका प्रसङ्ग आज पनि यथार्थ बनिरहेका छन् । जनता आज बडो असमञ्जसमा कुँजिएर बसेका छन् । समाज र राजनीतिभित्रका कलुषित आचरण र प्रवृत्तिले मुलुकलाई नङ्ग्याउने काम गरिरहेका छन् । पाखण्डी भए पनि नेता हुने, बलात्कारी, भ्रष्टाचारी भए पनि नेता नै हुने कुसंस्कारले राजनीतिमा असल व्यक्ति को छ भनेर खुट्याउनै सकिँदैन । यसको मूल कारण काम गरेर देखाउन भन्दा काम नगरेर झुक्याउन चाहनेको अचम्मको प्रतिस्पर्धा हाबी देखिन्छ ।

हिजो एउटा समयमा राजतन्त्रको विरोध गर्दा असत्य हुन्थ्यो । त्यो असान्दर्भिक लाग्थ्यो । त्यतिखेर त सर्वहारा वर्गलाई नै सर्वहारा हुँ भन्ने थाहा थिएन । तथापि, राजतन्त्रात्मक व्यवस्थामा पनि त विकास र शान्तिकै पक्षमा नारा घन्किएका हुन् । त्यतिखेर एक व्यक्ति र सीमित मान्छेको चाकडी गरेर केन्द्रीकरणको राजनीति हुन्थ्यो । आज त चाकडी र राजनीतिक स्वार्थ पनि बहुल व्यक्तिमा विभाजित छ । चाकडीमा पनि उपचाकडीको स्वार्थ हिजोको तुलनामा निक्कै बढेको छ । यद्यपि त्यो स्थापित स्वार्थको तहमा भएर पनि देशको स्वार्थतिर उन्मुख राजनीतिक व्यवस्था थियो । स्वार्थको हिसाबमा त त्यतिखेर पनि जनताको समृद्धिकै अपेक्षाचाहिँ गरिएको हो । राजतन्त्रचाहिँ अकाट्य शासन अनि विकासको कुरा जोड्दै लैजाने केन्द्रीकरणको सोचले परिवर्तनको कुरा कछुवा गतिमा चलेको देखिन्थ्यो । मान्छे आफ्नो गरिखान्थे । चिया गफभन्दा पेटको समस्या र आफ्नै कर्मतिर मानिस अल्झिएका देखिन्थे । जनतामा परिवर्तनको सोच जगाउने काम शिक्षाबाटै अलिक बढी भयो । पढालेखाहरूले नै समाज र व्यवस्थामा सुधारको अपेक्षा गरिरहँदा माओवादी द्वन्द्वले हिंसाको खाडलभित्र जाकिदिएको हो ।

२०६२/०६३ को जनआन्दोलनलाई माओवादी द्वन्द्वले बेस्सरी ढाडस दियो । १७ हजार जनताको रगत र पसिनाको परिणामलाई कमसेकम भावनात्मक सम्बोधन होला भन्ने अपेक्षा जनतामा बढ्यो पनि । लट्ठी र मुङ्ग्री गर्दै डर र धम्कीका कारण अर्थात् माओवादी भन्ने नयाँ पार्टीलाई चाखौँ न त भन्ने नयाँपनको खोजीका कारण भए पनि तत्कालीन माओवादी पार्टीलाई जनताले चुनेकै हो । अरूलाई यथास्थिति आफूलाई क्रान्तिकारी मात्रै होइन हाम्रो ‘गौरवशाली क्रान्तिकारी पार्टी’ भनेर शिर ठाडो पार्ने दिन त्यतिखेरसम्म कायम थियो जबसम्म त्यो पार्टी एउटै झण्डामुनि थियो । प्रचण्ड, बाबुराम, वैद्यजस्ता व्यक्तिको एउटै विचार र एउटै स्वार्थ थियो । जङ्गलमा एउटै थालमा भात खाएर टाउकाको मोल तोकिएका मान्छे एकै कित्तामा हुन नसक्नुको मूल कारण नेतृत्व हस्तान्तरण नहुनु र सत्तास्वार्थमै गएर थुप्रिनु थियाे र आज पनि ठ्याक्कै त्यही छ । प्रचण्डद्वारा अध्यक्षको पद हस्तान्तरण गर्ने आँट नगरिनु यसको अर्को विशेष कारण हो ।

जुन नेताले आफैँलाई सुरक्षित राख्न सक्दैन उसले देशलाई अनि अझ देशका जनतालाई कसरी शान्ति सुरक्षा प्रदान गर्न सक्छ ? आज हिजोको माओवादीको बिउ टुक्रिएर नयाँ बिरुवा उमार्ने शक्ति मरिसके । जसरी नेपाल कम्युनिस्ट पार्टी पनि मर्ने बाटोतिर उन्मुख रहेको प्रष्ट छ । यो व्यक्तिसत्तामा आधारित स्वार्थको लडाइँमा देश र जनता सिध्याउने सोच बाहेक उन्नतिको स्थान कदापि छैन । यो लडाइँ राष्ट्रिय स्वार्थको कतैबाट पनि होइन । यस्ता व्यक्तिस्वार्थजनीन सोचकै कारण हिजोको राजतन्त्रलाई निरङ्कुश भनिएको होइन र ? यो नकारात्मक दिशाको घडीको सुई नितान्त उल्टो दिशामा छ । कात्तिकदेखि मङ्सिर महिनाभरिमा मात्रै प्रदेश १ को इटहरी, बसुन्धराको अगुवा भेला, मदन भण्डारी कलेजमा विद्यार्थी भेला, मोरङमा प्रदेश १ को भेला गरी ओली पक्षले भेला गरेको देखिन्छ भने प्रचण्ड–नेपाल पक्षले मङ्सिरदेखि पुससम्ममा नै भनौँ काठमाडौँमा विद्यार्थी भेलादेखि बाग्मती प्रदेश, दमक र विराटनगरमा पनि विद्यार्थी भेला, काठमाडौँमा पुस ३ गते प्रदेश १ का जिल्ला पदाधिकारीको भेला राखेको देखिन्छ । यसको अर्थ यो व्यक्तिस्वार्थभित्र राष्ट्रिय स्वार्थ नै चकनाचुर भएको छ ।

२०६२/०६३ को जनआन्दोलनमा त राजतन्त्र निरङ्कुश हो भनेर राजा फाल्दा छुमन्तरै हुन्छ भनेर भनिएका पनि हुन् । त्यसपछिको परिवेशमा पनि परिवर्तनले गति लिनै सकेन । मान्छे मारेर माथि पुग्नेले जनताको स्वार्थ भन्दै कुर्सीको स्वार्थलाई नै रोजे । सबैको दिमागमा अस्थिर सरकार भएका कारणले समस्या भयो भनियो । त्यहाँ पनि घडीको सुई सुल्टो घुमेन । तब ‘नौ महिने सरकार’ पद्धतिलाई दोष दिइँदै गइयो । संविधान नबनेको कुरालाई लिएर पनि निकै समय होहल्ला भए । संविधान पनि बल्लतल्ल १० महिनासम्ममा जन्मनुपर्ने बच्चा १५ महिनामा जन्मे जसरी अचम्मित नै मान्नुपर्ने गरी सारै कठिनले मात्रै आयो । जनवर्गीय संविधानको नाम दिइयो । राजतन्त्रको वकालत तब त बिस्तारै बिस्तारै भुल्दै गइएकै थियो । तत्पश्चात् अझ भनौँ– स्थिर सरकार त्यसमा पनि बहुमतको सरकार बनेपछि जनताले छाती ढक्क फुलाएर भन्न पाएका थियौँ, ‘अब त घडीको सुई सुल्टो घुम्ला नि त ।’

भन्नलाई त ‘परिवर्तन छुमन्तर गरेर हुने हो र, बिस्तारै भइरहेको छ नि’ भन्दा पनि हुन्छ । अर्थात्, ‘लोकतन्त्रमा पार्टी–पार्टीबिच अन्तरविरोध त भइहाल्छ नि’ भन्ने तर्क बोक्नेको पनि कमी छैन तर यदि कथमकदाचित जनताले विकल्पमा उही सडकबाट फालेको राजतन्त्रलाई सडकबाटै ल्याए भने पनि दुई धार हुने त पक्का छ । यसको अर्थ घडीको सुई त जसरी घुमे पनि घुम्छ तर अस्थिर र असन्तुष्टि तब पनि कायमै रहन्छ । यो पनि अन्तिम विकल्प र अन्तिम सत्य होइन भन्ने देखिन्छ । बाम एकताले बहुमतको सरकार निर्माण हुँदा जनताको मुहारमा छाएको खुशी सडकमा गएर थुरिँदै छ । केवल राजनीतिक स्वार्थ यसको कारण हो । यो केवल व्यक्तिगत स्वार्थका लागि नेताहरूले बाँधेको गुटको परिणाम हो अनि त्यही गुटलाई बोक्ने नेतालाई चाप्लुसी गरेर साथ दिने अवसरवादी कार्यकर्ताको कारणले हो । यसर्थ अबको परिवर्तनका लागि गुटगत राजनीतिको विपक्षमा रहेर गुटरहित राजनीतिको समर्थन गर्दै विकासतर्फ लम्कनु जनताको पनि दायित्व हो । विकास र समृद्धिबाहेक अरू स्वार्थको तहमा साथ नदिनु जत्तिको उत्तम केही होइन । यो आम जनता र पार्टीको झण्डा बोक्ने कार्यकर्ताको हातमा छ ।

अहिलेको राजनीतिक लडाइँ, माओवादी द्वन्द्व, जेलनेलका कुरा र हाम्रा अहिलेका त्यागको कथा जत्तिको इतिहास त पक्कै पनि बलभद्र, भीमसेन, अमरसिंह जस्ताको हस्तीको तहमा थिएन नै । जतिसुकै इतिहासलाई गालीगलौज गरे पनि हिजोको लडाइँ राष्ट्र र स्वाधीनताको रक्षाका लागि थियो जसले रत्तिभर पनि व्यक्तिगत स्वार्थका लागि सोचेनन् । तब त्यहाँ गुटगत स्वार्थ कमजोर बन्न पुग्यो । आजको राजनीतिक माहोल जति धेरै दुर्गन्धित भएर डुङडुङती गन्हाएको छ हिजोको त्याग त्यसको विपरीत सलुटयोग्य छ । यसर्थ इतिहासले आजको नेतृत्वलाई प्रश्न गरेर भन्ने छ– राजतन्त्र कि लोकतन्त्र भन्ने बहस चलाउने काम गुटगत राजनीतिका कारण नै उब्जिएको हो । ऊखु किसानले न्याय खोज्न सडकमा वर्षौँदेखि आन्दोलन गर्नुपर्ने दुर्दशालाई सर्वहाराको नेतृत्व गरेको हुँ भन्नेले नै निम्त्याएका हुन् । यस मानेमा राजतन्त्रको वकालत गर्ने जनतालाई असचेत, अन्धविश्वासी, अज्ञानी भन्ने संज्ञा दिनु पनि लोकतन्त्रको विरोधी विचार हो भन्ने लाग्छ । जनताले न्यायका लागि विकल्प खोज्दा महापुरुषको खोजी गर्दागर्दा थाकेपछि यो वकालत पुनः ब्युँतिएको हो । लोकतन्त्र र राजतन्त्रको बहसभित्र उनिएर आएका विचारमध्ये ठीक र बेठीकको तर्कलाई भन्दा कारक पक्षलाई हेरिनु आवश्यक छ । परिवर्तन छुमन्तर त होइन तर ५० वर्षअघिको चीन र आजको चीनलाई हेरौँ, २० वर्षअघिको जापान र आजको जापानलाई हेरौँ न । विकासका लागि व्यवस्था मात्रै होइन भिजन पनि चाहिन्छ । आज त्यही महापुरुषको खोजीमा जनताले सडकबाट विकल्पको उद्घोष गरेका हुन् । कि त जादुको छडी बोक्ने मान्छे साँच्चै नै खत्रक्क आउनुपर्ने भयो नत्र कोभन्दा को राम्रो भन्दै गर्दा जनताले बरु त राजतन्त्र नै ठीक भन्ने बित्तिकै तँ अन्धविश्वासी, तँ प्रतिगामी, तँ पुरातनवादी भन्नु पनि त अलोकतान्त्रिक होला नि त ।

बहस कुन ठीकभन्दा पनि चाहिएको चीज र भनिएको अनि गरिएको सन्दर्भले पटक्कै मेल नखाएको मात्रै हो । हिजै हामी कुर्सीका लागि जे पनि गर्छौँ भनेको भए त जनताले राजा नै ठीक भनिहाल्थे नि । तब फेरि यहाँसम्मको बहस जरुरी हुने थिएन । समाजको उल्टो सुई पनि सोचगत तहमा ओर्लिएर उल्टो घुम्दै छ । समयले समाजलाई बदल्ने कुरालाई मात्रै उपलब्धि मान्ने हो भने विकास र विनासका तहमा सोच र शैलीले बढी प्रभाव पार्छ । यसर्थ समाजले निर्धारण गरिदिएको सत्य र व्यक्तिको चाहना पनि अलग हो । आज देखिएको परिवर्तनले हिजोकै जस्तो राजतन्त्रलाई पक्कै ल्याउन सक्दैन भन्नेचाहिँ पक्का हो । जनताको हक र हितका बारेमा सोच्ने गरी सुधारिएको व्यवस्था होला तर जनताको चाहना भने उत्तम विकल्पको खोजी नै हो । भैरव अर्यालले भनेझैँ अन्तिममा आफैँले आफैँलाई महापुरुष घोषणा गरेर आफूबाहेक अरूको विश्वास गर्न नसकिने अवस्था आजको यथार्थ हो । यस मानेमा मुलुकको घडीको सुई विलकुल उल्टो दिशामा चलेको छ । यस विषयमा त जनताले पनि अबको राजनीतिमा बोलेर पूरा नगर्नेलाई कारणसहित चित्तबुझ्दो प्रतिवेदन माग्नुपर्छ । नेताले बोल्ने र काम गर्ने प्रतिशतको पनि स्पष्ट लेखाजोखा हुनुपर्छ । हैन भने कमसेकम हुकुमीतन्त्रको सोचका लागि खातिरदारी होइन खबरदारी हुनुपर्दैन त !

तपाईंहरुलाई पनि दरबार टाईम्समा आफ्नो लेख प्रकाशन गर्ने इच्छा छ भने durbartimes@gmail.com मा पठाउन सक्नुहुनेछ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send