durbar-times

विभक्ती


विभक्ती

चैत्र ११ गते ।
समय- राति ।

आकाशमा लटरम्म तारा फलेको रात कोठामा निसास्सिरहेछु म । खाटबाट उठेर झ्यालनिर पुग्छु ,झ्यालको छाती च्यातेर सडकतिर हेर्छु ।पल्लो घरको चिमको उज्यालो थोरै कोठामा छिर्छ । फेरि खाटतिरै फर्किन्छु । जसको कुनै अर्थ छैन ।

बिना अर्थ ,बिना प्रयोजन पनि धेरै कुरा गरिँदो रहेछ । कोठाको चिम जलाउन अल्छि लागेको छ । खाना खाने कुनै सुरसार छैन । फेरि चामल सकिएको पनि त अस्ति हो । घर फोन गर्नु पर्ने हो ,आमैलाई दुःख लाग्दो हो फोन नगर्दा । मोबाइल पनि कता परेछ कुन्नि ।

कोठाको मुखमा ताल्चा लगाएर बार्दलीमा उभिन्छु । आकाश ,नौलाख तारा । सायद तारामा पनि घटबढ भैसके होलान् । दुई कक्षामा पढ्दा हो क्यारे नौ लाख भएको ।

कतै पढाएनन् ताराहरूको मृत्युदर ,जन्मदर ।भर्खरै एउटा तारा झर्छ उतातिर । यसले औसत मृत्युदरको जिन्दगी बाँच्यो होला कि नाइँ ? धेरैपटक देखेको छु तारा झरेको र झरिरहन्छन् । कुनै प्रेमीले दुईचार थान तारा टिपेर बगलीमा पनि राखिदियो होला प्रेमिकाको । सबै मजस्ता ल्वाँठ प्रेमी पनि त कहाँ हुन्छन् र ! हुन सक्छ अब आकाशमा आठ लाख तारा बाँकी छन् ।फेरि आठ लाख मध्ये बालबालिका तारा कति होलान् ? जवान कति होलान् ? कति बृद्ध होलान् ताराहरू ?

म सडकमा पुगिसकेछु । ढोकाका कापकापबाट थोरै उज्यालो सडकमा आएर सुतेको छ । खुट्टामा असजिलो महसुस हुन्छ ।हेर्छु । ज्या! चप्पल उल्टो लगाएको रहेछु ।भैराखोस् उल्टो । चप्पल बदल्ने मन भएन ।सडकका पेटीहरूमा अँध्यारोले बिस्तारा लगाइसकेछ । एकछिनमा सुत्ला पनि ।

बेला कुबेला तिर्खा लाग्यो । पानी खान पाए हुने । चिया खान पाए पनि हुने । खल्ती छाम्छु । दाइने खल्ती खाली रहेछ । देब्रे पनि खाली रहेछ । पछाडीको खल्ती ? त्यो पनि खाली रहेछ ।

थुक्क !
अलिधेरै खल्ती भएको भए कति धेरै जाति हुन्थ्यो । खल्ती खोतल्दा खोतल्दै उज्यालो होस् ,रात सकियोस् । यो पाइन्टभरि खल्ती नै खल्ती होस् ,खोतल्दा खोतल्दा जिन्दगी जाओस् ।

रित्तो खल्ती, खाली ,शून्य,आकाश ।
फेरि आठ लाख तारा,सडक,पानी प्यास,खल्ती ,रित्तो ,शून्य,आकाश।फेरि त्यही पुरानै कथा । अनवस्था ।

माथि कमिज लगाएको रहेछु । यसमा पनि एउटा खल्ती छ । के त्यहाँ पैसा होला त ? खोतल्छु त्यो पनि । रहेछ पचासको नोट । अब फेरि प्यास मेटिइसकेछ । थुक्क ! भैजाओस् ।चिया नखाई छोड्दिनँ ।

पुरानो होटल । भनौँ गइराख्ने । दिनेशले लगेको मलाई पहिलोपटक । भनेको थियो - 'ल तँलाई आज म लिफ्ट चढाउछु ।'

चढायो पनि । चढेँ पनि । अनि त्यसपछि कति गएँ याद छैन । चार महिना अघि ऊ पनि गएकी थिई । नास्ता खाएपछि न्यापकिन पेपरमा ओठ टाँसेर छोडी । भन्दै थी - वेटर खुसी हुन्छन् ।

म उति बेलैँ रिसाएँ । भनेँ - 'सबैँ तँ जस्तै हुन्छन् ? वेटरले नदेखेर अर्को ग्राहकले देखेर घिनायो भनेँ ?'
मलाई खास पिर त उसले ओठ छोडेकोमा लागेको थियो।

संयोगवस अथवा बियोगवस त्यसपछि सधैँ म एक्लै जान थालेँ त्यो होटलमा । जस्तै- आज।

मैले चिया खाने निर्णय गरेर होटलमा पुगेँ ।

टेवुल अन्त कतै खाली छैन । एउटा छ जहाँ एउटी आइमाईले चुरोट पिइरहेकी छे । आखिर चिया खानु जो छ यहाँ मलाई । अगाडि पुगेर सोध्छु म - 'के म बस्न सक्छु यहाँ ?'

  • तपाईँ बस्न सक्नुहुन्छ सक्नुहुन्न मलाई के थाहा !

अहो !बुलेट त राम्रै पड्कियो । म बसिसकेको थिएँ।किन व्यर्थै औपचारिकता निभाएछु जस्तो लाग्यो । सायद ऊ कुनै गहिरो चिन्तनमा थिई ।मैले ब्युँझाएँ । म तल हेरेर बस्छु । अहो !चप्पल अझै उल्टो नै रैछन् । हतपत फेरवदल गर्छु।

नहेरेजस्तो गरेर एकपटक हेरेपछि लाग्यो आइमाई नभएर ऊ युवती आइमाई हो ।

पानी हल्लिरहेको समुद्रको बीच भागमा पानी जहाज भएजस्तो चञ्चल अनुहारमा अस्वभाविक उठेको नाक ।
कुनै निर्जन जङ्गलको बीचमा अग्लो पहाड र दुइतिर एकएक कुवा भएजस्तो आँखा ।कालाजस्तै ओठ । एकमुठीको गर्दन । बरको हाँगाबाट बटारिदै तल झरेका जराजस्तो घुम्रिएको कपाल । भर्खर कुनै सुचना लेख्न चुना पोतेर राखेको भित्ताजस्तो निधार । दुब्ली । अघि नै बुलेटझैं पड्किदा लागेको थियो - 'यो मरिच हो । त्यो पनि आफ्नै पिरले चाउरिएकी।समग्रमा नराम्री भन्न नमिल्ने छे ।

चिया आइसकेछ । थोरै तर लागिसकेछ ।प्युँदैछु म । बेला बेला उसले पिएको चुरोटको धुँवा मेरो नाकतिर पनि आइरहेछ । भर्खर उसले हेरी ।व्यङ्ग्य भाव देखियो आँखामा ।उसले मनमनै सोचेकी होली - ' यो रातमा आठदश ओटा टेवलमाथिका पच्चिस तीस गिलासमध्येमा एउटा चियाको गिलास छ जुन मेरै अघि ।'

पैसा तिरेपछि म बाहिरिएँ। गेटनिर पुगेपछि फेरि एकमेसो अल्झिएँ म - अब कता जाने ?
त्यतिकैमा चुरोटवाली पनि निक्लिई । ऊ नरोकिएर सरासर दाँयापट्टि लागी । उसलाई मेरा आँखाले पिछा गर्ने कुनै प्रयास गरेनन् । म कोठातिर फर्किएँ । बाटोमा सोचें- 'ऊसँग बोलेको भए हुने । कम्तिमा नाम चाहिँ सोध्नु पर्ने । हुन त मरिच हो,के चाख्नु । पिरो भैहाल्छ ।'

म कोठामा पुगें ।
खै! कति बज्यो।मसँग समय थियो,लगभग रात मात्रै पनि आधा त हुँदो हो तर घडी थिएन ।


  • चैत्र १७ गते ।
    समय - राति ।

लगातार चारसाँझ चार हातका चार कुइनाले त्यही टेवलमा टेकेर बिताए । जसमा  चार हातमा दुई मेरा र दुई चुरोटवालीका थिए । हामी गफ गर्ने भैसकेका छौँ । अन्धाधुन्धा गफ पनि गर्छौ । म ठाउँ पाएको बेला उसलाई ब्यङ्ग्य गर्न पछि पर्दिनँ ,मभन्दा ऊ पनि कम छैने ।

अस्ति-

ऊ चुरोट पिइरहेकी छे । घरिघरि मलाई पनि हेरिरहेकी छ । ऊ आउनु अघि टेवलमा मेरा दुई हात मात्रै थिए । मलाई कुनै आशा थिएन कि ऊ आउँछे । ऊ आएकोमा कुनै हर्ष पनि छैन मलाई । बरु डर लागिरहेछ -यल्ले मेरो हुर्मत उतार्छे । हेर्दै पड्किन आटेको बमजस्तै छे ।

टेवलमाथिबाट अगाडि हेरिरहेका आँखाले उसलाई देखेपछि कताकता हलचल भो । ऊ यतै आइरहेकी छे । म संयमित हुन खोज्छु । ऊ नजिकै आइसकी।

-म यहाँ बस्न सक्छु ?
म भित्रभित्र आत्तिएँ । के उत्तर दिऊँ यसलाई ?झट्ट मुखबाट निस्किहाल्यो - 'तँपाईँ बस्न सक्नुहुन्छ सक्नुहुन्न मलाई के थाहा !'

उसका ओठ एकखेप मुस्कुराए।लाग्यो बम ओसियो । ऊ बसिसकेकी छ । वेटर आउँछ मेनु लिएर । मेनु नहेरी बोल्छे ऊ - दुई खल्ली चुरोट ल्याऊ ।
कुन चुरोट ? वेटर बोल्छ ।
-मृत्युको मात्रा जुनमा धेरै छ त्यही ल्याऊ।

अहो ! यो आइमाई।

दुई खिल्ली चुरोट ल्याऊ भन्दा सोचेथेँ भनिदिऊँ-म चुरोट प्युदिनँ है । तर भनिनँ । मेरो चिया सेलाइसकेछ । एक पटकमै सिनित्त पार्छु । चियाको तलतल मेटिएन । खल्ती छाम्छु । छ जस्तो लाग्छ रुपैयाँ ।

-भाइ,एककप चिया ल्याऊ त फेरि ।

चिया आइसकेको छैन ।ऊ धुँवा उडाइरहेकी छे । दोस्रो खिल्ली सल्काउँछे । कस्तो उकुसमुकुस। मलाई पसिना आइरहेछन् भित्रभित्र । चिया आउँछ । ऊ पैसा तिरेर निस्किन्छे । बाँचियो । आज बम बिस्फोट भएन । कुनै दुर्घटना भएन ।

एकछिन पछि म पनि निस्किन्छु । आज सम्झिएको थिएँ नाम सोध्न त । तर सोधिनँ ।भनौँ कुनै मजा भेटिनँ नाम सोध्नुमा ।

कोठामा पुगेपछि बिस्तरामा पल्टिएर सोचेँ- 'ऊ चुरोट मात्रै प्युन कहाँदेखि आउँदी हो ? हुन त म पनि चिया मात्रै प्युन जान्छु त्यो पनि साँझमा।'

हिजो-

म पुगिसकेको छु पुरानो चिया खाने ठाउँमा । मानौँ एउटा टेवुललाई दुई कुर्चीले सुरक्षा दिइरहेछन् । कुर्ची थोरै पछि सारेर म बस्छु ।

-भाइ !
-ल ल दाइ !

मलाई घरकाले भन्दा यो होटलमा आउनेले धेरै चिन्छन् । घर बाहिर बस्न थालेको १० बर्ष भो ,यहाँ आउन थालेको पाँच महिना । 'भाइ , चिया एककप ल्याऊ त'बाट 'भाइ !_ सम्म पुगेको छ ।पाँच महिनाको प्रगति ।

आज कता कता आँखाले खोजिरहेछन्।भऱ्याङनिर गइरहेछन् आँखा । एकछिनमा आइपुग्छे । सरासर आएर मेरै अघि बस्छे ।चुरोट मगाउछे ।

ठूलो आँट गरेर बोल्ने प्रयास गर्छु म - 'म यहाँ बस्न सक्छु' भनेर सोध्नु भएन त आज !
उसले उतिबेलै मुख चलाई-
'यो प्रश्न हो कि उत्तर ? प्रश्न भए केही उत्तर दिउलाँ ।नत्र भनेँ ...।'
अनि एकखेप हाँसी।

खै !यसलाई के भन्छन् कुन्नि!
म पनि अधकल्चो बोलेँ।

तपाईँको चिया सेलायो - ऊ भन्छे ।  चियालाई हेरेँ।सास फेरिरहेको थियो । बाफ उडिरहेको थियो।त्यसपछि एकछिन कुरा भएन । हुन सक्छ मलाई चियामा केन्द्रित बनाएर आफूलाई अन्त कतै मोडि । चुरोट तानिरहेकी छे। फिल्टर पनि जल्न थालिसक्यो । म बोलेँ- 'चुरोटले पोल्ला है !'

एष्ट्रेमा फ्याकिदिई चुरोटको ठुटो। मलाई लाग्यो मैले पैँचो तिरेँ । उसले पनि त मेरो चिया सेलाएको जानकारी दिएकी थिई ।

आआफ्नो पैसा तिरेर हामी बाहिरियौँ।ऊ शुभरात्री भनेर सरासर गएर परको गल्लीबाट भित्र लागि।म कोठामा फर्किएँ ।

आज-

म पुग्नुभन्दा अघि पुगेर कुर्चीमा आफूलाई थन्क्याएर टेबलमा हात राखेर सिधा भऱ्याङनिर हेरिरहेकी छे ऊ । लगत्तै मेरो प्रवेश हुन्छ।म सरासर उसैको अघि पुगेर बस्छु।ऊ वेटरनिर हेरेर बोल्छे-'भाइ ,एककप चिया।'

फेरि मलाई हेरेर मुस्कुक्क हाँस्छे । मैले पनि बोलाउँछु- 'भाइ !'

  • 'एकछिन ल ।'

म उसलाई हेरिरहेछु । तर उसले नदेख्ने गरेर।

  • 'के ट्वाँ परेर हेर्या ?'
    उसको आवाजले म झस्किन्छु । ऊ हाँस्छे । कुरा अन्तै मोड्ने आसयले सोध्छु - 'वाइफाइको पासवर्ड के रहेछ यहाँको ?'

ऊ बोल्दिन । चिया आउँछ दुई कप । एक कप मेरा अघि ,एक कप उसका अघि राखिदिन्छ ।लगत्तै बोल्छे ऊ- 'यो कप पनि उहाँलाई नै हो।
म त पिउन्न चिया।'

वेटर अलमल पर्छ।फेरि बोल्छे ऊ- 'हजुरले पनि मगाउनु भा चिया ?मैले मगाइदिसकेकी थिएँ त ।'

जाऊ भाइ - वेटर जान्छ ।

चिसो नहुँदै दुबै कप चिया पिउछु म ।हजुरलाई थाहा भएको कुरा पनि भनौँ- ऊ धुँवा उडाइरहेकी छे ।

म आज चैँ नाम नसोधि नछोड्ने अठोट लिएर आएको छु ।भन्छु - 'हामी परिचय गरौँ न ।'
-'हुन्छ तर एउटा सर्तमा।'
-'कस्तो सर्त ?'
-'भोलि फेरि चुरोटको पैसा म तिर्छु भन्न पाउनुहुन्न।' ऊ हाँस्छे।

मैले हाँस्दै भन्छु- 'भनेपछि हाम्रो भोलि पनि भेट हुन्छ ?'
-'ईश्वरले चाहे।'

  • 'ईश्वरमा विश्वास लाग्छ ?'
  • 'अविश्वास लाग्दैन।'
  • 'किन ?'
  • 'थाहा छैन ।'
  • 'ईश्वर छ जस्तो लाग्छ ?'
  • 'हजुरलाई छैन जस्तो लाग्छ ?'

प्रश्नमा प्रतिप्रश्न आएपछि हाम्रो वार्तालापको क्रमभङ्ग हुन्छ ! हामी सडकनिर आइपुगेका छौँ । म सोध्छु- 'हजुरको नाम ?'

  • ' विभक्ती।'
  • 'विभक्ती ? कुन बिभक्ती ?' म थोरै हाँसेर सोध्छु ।
  • 'पञ्चमी विभक्ती।' ऊ पनि हाँस्छे।
  • 'पञ्चमी विभक्ती के अर्थमा हुन्छ थाहा छ ?'
  • 'थाहा छ । छुट्टिनु अर्थमा । शुभरात्री । अरु परिचय भोलि ।'

ऊ सरासर गएर परको गल्लीबाट भित्र पसी। म ठिङ्ग उभिरहेँ । लाग्थ्यो-सासले छोडेपछि पनि उभिरहन्छु यत्तिकै।

म कोठामा आइपुगेँ कसरी कसरी । अघिको घटना याद आइरह्यो । बिस्तरामा पल्टिएर आँखा चिम्लिएर के के सोचिरहेँ । उसको नाम विभक्ती । उसलाई पत्रपत्रमा विभक्त गर्न मन लाग्यो । प्याजजस्तो पत्रपत्रमा ऊ उप्किदै गई।प्याज पत्रपत्र भएर सकियो । मेरो हत्केलाभरि शून्यता मात्र बाँकी रह्यो ।

फेरि कतै गुन्जियो- 'थाहा छ । छुट्टिनु अर्थमा ।शुभरात्री। ...।'

यस्तो लागिरहेछ
हामी दुईले एक एक ग्रन्थ लेख्दैछौँ । उसले आस्तिक ग्रन्थको अघिल्लो पन्नामा नै ईश्वरको निन्दा गरेर लेखी । मैले नास्तिक ग्रन्थ लेखिरहेछु जुन ईश्वरको मङ्गलाचरण गरेर सुरु गरेँ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send