durbar-times

विभक्ती- (भाग ३)


विभक्ती- (भाग ३)

12 गते ।

जिन्दगीको शिद्धबाबानिर यात्रा गरिरहदा पहिरो खसाल्नेहरूको कमी रहेन । न त पाल्पाका मोडहरुमा यात्रा गरिरहदा यादहरूसँग जुधाइको क्रममा हुने दुर्घटनाको कमी रह्यो।कमी रहेन जिन्दगीमा बौष्णव मिस्टान्न भण्डारको मेनुजस्ता मान्छेको पनि ,जो सुन्दै मुख रसाउने मिस्टान्नका नामले भरिएका छन्।  रोपाइँ चलिरहेको खेतमा होस् या जिन्दगीमा होस् हिलो छ्याप्न तम्सिनेहरूको पनि त कमी रहेन।जर्नी अफ रिकभरीमा लैजान योग्य मन साथमा राखेर भड्किएको अात्माजस्तो हिडिरहन परेको छ। जुन कसैलाई याद गर्ने लतमा फसेको छ। यादहरूको तौल अपरिमेय हुन्छ,जो च्यापिन्छन् ती सजिल‌ै उठ्न सक्दैनन् ।

एउटा चिज जो धेरैले प्युछन्- चुरोट ।एउटा चिज जसको नाम कुनै होटलको मेनुमा लेखिएन- चुरोट।यही चुरोट जसको सिङ्गो मेनु छ मसँग -  चुरोटवाली।

उसको फोन अाएको धेरै समय भैसक्यो।अनुमान लगाउनुस्- तीस मिनेट,पैंतीस मिनेट,चालीस मिनेट अथवा यस्तै कुनै अंकको मिनेट।मसँग डर छ । म फूलका खुट्टा लिएर कुद्न सकेको छैन।र जानू त छदैछ।म जवर्जस्ति हिडिदिन्छु कोठाबाट।

डरको भारी छ मसँग ।जसले पैतलाको तुजुकलाई कमजोर पारिरहेछन् ।कतै सोधिहाली भनें - 'त्यो अस्तिको फोटोमा हाँसेकी  मान्छे को हो नि तपाईंको ?'अथवा जिस्क्यादै भनी भनें- 'तपाईंकी  गर्लफ्रेन्ड कति राम्रो हाँसेकी है फोटोमा !'

सक्दिनँ ।सत्य म सक्दिनँ। म केही भन्नै सक्दिनँ।

मुनरिया,मसँग कुनै त्यस्तो नाता छैन जुन प्रयोग गरेर तिमीलाई चुरोटवालीको अघि भन्न सकूँ कि - ऊ हो मेरी । फेरि कसरी भनूँ चिन्दिनँ भनेर । सत्य म तिमीलाई चिन्छु । पछाडिबाट पनि चिन्छु । फेरि एउटा रहर पलाएको छ तिमीलाई नचिन्ने । रहर न हो । खै! पूरा भैदिए त।

यस्तै के के सोच्दै नदी किनार पुगिसकेछु म ।नदीतरै हेरेर उसले भन्छे- 'हेल्लो चियावाज ,किन यति अबेर?'- 'यसै । अबेर भएछ ।'

यो अाइमाईले पहिलो पटक नाम राखेर सम्बोधन गरी मलाई । त्यो पनि चियावाज । यो कस्ति अाइमाई हो । अाजसम्म मेरो नाम सोधेकी छैन । दुई महिना भैसक्यो भेट हुन थालेको पनि । यो कस्तो बेवास्ता ? यो कस्तो व्यवस्था ?

'हाम्ले जस्तो अोठतिर,अाँखातिर रङ पोत्नु त पर्दैन । फेरि किन ढिला भएछ '- सुस्त सुस्त भनेर बाँकी चर्कै स्वरमा भनी - 'हाम्रो भेट नभएको चार दिन भो। चारदिनमा तीनवटा निर्णय गरें मैले।के के थाहा छ?'

नाइँको भावमा टाउको हल्लाएँ मैले ।फेरि भन्न थाली- 'ल सुन निर्णय। तर मैले ती निर्णय दुईवटा  लागू पनि गरिसकें।'

१- तँपाईबाट तिमीमा झर्ने।२- तिम्रो नाम चियावाज राख्ने।३ - ...।  भो अहिले भन्दिनँ ।
म हाँसे मात्रै ।- 'यसरी हाँस्नु हुन्न ।'- 'हाँसे के हुन्छ ?'- 'लभ पर्छ ।'

लाग्छ अाज यो मान्छे बिलकुल फरक छ ।अस्तिसम्म गम्भीरता राखेर हिड्थी अाँखामा ।अाज निरासा छ अाँखामा । ओठमा धकेलेर ल्याएको हाँसो छ । झन् दुब्लाएकी छ। सरासर गन्ती गर्न नभुले शरीरमा हेरेर २०६ पटक सम्म गन्न मिल्ने हाड देखिएका छन् । मलाई मन लाग्छ फेरि उसको नाम राखिदिन । राखिदिन्छु- अस्थिपञ्जर।

लामो समयपछि म एक्कासि बोलें- लभ परे के हुन्छ त ?सोध्छु भनेर सोधेको हैन।अनायासै चिप्लिएको प्रश्न । कता कता लाज लाग्छ।अनपेक्षित उत्तर अाउँछ- म धेरै जेठी छु त तिमी भन्दा।
ए बुढी अाइमाई म तिमीलाई कसरी सम्झाऊँ?प्रेम जोसँग पनि त हुनसक्छ तर मन चाहिन्छ।
फेरि सोध्न मन लाग्छ- 'भएर के हुन्छ ?'अलिकति हाँसेर भन्छे- 'मेरो घरमा बच्चा छ ।'म पनि भन्छु- 'हाम्रो अाश्रममा झन् कति धेरै बच्चा छन् ।'

दुबै हाँस्छौं ।हाँसिरहन्छौं।

यति बेला ऊ बालुवामा अाफ्नो नाम लेखिरहेकी छ ।म हेरिरहेको छु । भन्न मन लाग्छ र भन्छु पनि- 'रित्तो खल्तीमा प्रेम हुन सक्दैन।'मानौं घोषणा हो यो । मैले घोषणा गरें ।

ऊ भन्छे- 'खल्ती थाप।'अझै जोडले भन्छे- 'थाप न खल्ती।'म छातीनिरको कमिजको खल्ती थाप्छु । ऊ अाफ्नो नाम लेखेको वालुवा उठाएर मेरो खल्तीमा राखिदिन्छे एक मुठ्ठी । अनि भन्छे- 'अब गरौं न त प्रेम।'

फेरि हाँसो पोख्छे । हात टक्टक्याउदै भन्छे- 'हुन त रित्तो खल्तीमा प्रेम किन हुनु पर्यो र ? मनमा भए भैहाल्छ नि। फेरि प्रेम भन्ने कुरा नै बेकार हो। मलाई त केहीझैं नै लाग्दैन प्रेम ।'

म उसलाई हेरेर अवाक् हुन्छु। म अवाक् भएर उसलाई हेर्छु । अाज यो अाइमाई बौलाएकी छ,अाज यो अाइमाईको इन्द्रीयले काम गरेका छैनन् जस्तो लाग्छ ।

एकछिन मौन बसेर भन्छे- 'मैले खासमा तीनवटा निर्णय गरेकी थिएँ । दुइटा सुनाएँ।एउटा बाँकी छ सुनाउन।सुन्छौ ?'म भन्छु- 'उम् ,सुन्छु।'एकछिन रोकिन्छे। भन्न खोजेजस्तो गर्छे। फेरि रोकिन्छे। लामो प्रयासपछि भन्छे- 'म मर्दै छु चाँडै ।'

म उसको अनुहार हेर्छु। हेरिरहन्छु। मात्र हेरिरहन्छु। म केही बोल्न सक्दिनँ। केही भन्न सक्दिनँ।अनुहार हेरेपछि लाग्छ ऊ सत्य बोलिरहेकी छ ।

यतिबेर उसले पोखेको हाँसो बालुवामा पर्यो ।जसको कुनै नाम निसाना छैन,कहाँनिर पोखियो भन्ने ।

*****

'अभाव अलिक डर लाग्दो नै हुन्छ।तर मसँग म बाँचुन्जेल अाफ्नै कमाइले चुरोट प्युँन सक्ने क्षमता छ।किन कि मेरो ज्यादा अायु अौषधिको भरमा बाँचे अझै पाँच बर्ष हो। नत्र एक बर्ष। मलाई केही दिन अघिसम्म बाच्ने मन थिएन । अनि अकस्मात मर्न  मन लाग्यो। बाँच्न मन नलाग्नु र मर्न मन लाग्नु अलिक फरक कुरा हो रहेछ । सोचें मर्छु '- कति सजिलोसँग भनिदिई यो अाइमाईले यी कुरा। जस्तो दिनेशले भन्छ मसँग- 'रुक् एकछिन् , म पिसाब फेरेर अाउँछु ।'

म कायल छु उसको स्पष्टवादिताबाट। म घायल छु उसको कुराबाट। म भग्नावशेष भैसकेको छु । कुनै पुरानो किल्ला जस्तो ।

एकछिन समय मौन बस्यो।मैले ऊतिर हेर्न सकिरहेको छैन।केही केरिरहेको छु बालुवामा तर कुनै हेर्न लायक अाकृति बनेको छैन।सायद अब कहिल्यै बन्दैन पनि ।

-  'घरमा सानो बच्चा छ।बुढी अामा हुनुन्छ।'

म झसङ्ग हुँदै उसको अनुहारमा हेरें।पग्लिन अाटिरहेका अाँखा थिए।भन्छे - 'अामा हुँ नि।छातीमा पग्लिने भूभाग अल्लि धेरै हुन्छ ।'

उसले अाँखामा करुणरस ल्याई। क्रमशः व्याख्या गर्न थाली। यस्तो विभत्स व्याख्या भयो कि करुणरसको थोरै लेप पनि बाँकी रहेन । अब ऊ पुरै विभत्स रस बनेर देखा परी मेरो अघि।।
सम्झनाको गहिरो पोखरीबाट निस्किएर लामो सुस्केरा छोडेर भनी- जाऊँ हिंड,ऐलेपछि फेरि बसौंला एकछिन ।हामी नदी किनारबाट निस्कियौं। ऊ अाफ्नो घरतिर लागि,म यतै कतै अल्झिएँ।
विभक्ती,मलाई तिम्रो बानी परेको छ । कस्तो कस्तो खल्लो बानी परेको छ।हामी बिभाजनको लगभग नजिकै अाइरहेजस्तो मनमा खुब लागिरहेछ।भिनसको प्रतिमाजस्तो नाङ्गो सत्य विरुपाक्षको मूर्तिजस्तो कुरुप लागिरहेछ।

मलाई बच्चा मन पर्छ । नाङ्गोपन मन पर्दैन।बच्चा नाङ्गो हुन्छ।मलाई सत्य मन पर्छ । नाङ्गो सत्य मन पर्दैन।सत्य नाङ्गो हुन्छ।

मलाई ज्यादा लुगा लगाएको मन पर्दैन। बेला बेला सत्यले भलाद्मी बन्ने सोचमा कोट पाइन्ट लगाएर हिंड्छ। मलाई यस्तो  सत्य मन पर्छ।जस्तो कि छोटो छोटो लुगा लगाएर बजारमा हिंड्छ तन्नेरी उमेर । बैँस अाएको सत्य ।जसलाई सक्नेले सिधै हेरुन्। नसक्नेले अलिक पर पुगेपछि फर्केर हेरुन् । यस्तो सत्य अलिक कडा हुन्छ। सिधैं चड्कन मार्न सक्छ। सत्यको चड्कन र बैंसालु स्यान्डिल उस्तै हुन्।अलिक चर्को।

मैले चड्कन खाइसकेको छु सत्यको । जिन्दगी अलिक लज्जित भएको छ। मसँग भेट हुने मभन्दा उमेरले कलिला क‌ैले भएनन्। म ओतमा बसे पनि मलाई  यादहरुको बाछिटाले पिटिरहेछ। बाछिटाले घरको भित्ताको कमेरो बगाएर कुरुप बनाइसकेको छ । क्रमश बेरङ,बेस्वादिलो हुँदै गइरहेछु ।
यादहरु किन पञ्चामृतजस्तो हुँदैनन् ?थोरै ,मीठो । किन सधैं नारायणीजस्तो उर्लेर अाउछन् यी?
विभक्ती ,म चाहन्छु  तिम्रो याद पञ्चामृतजस्तो भैदियोस्।नारायणीजस्तो हुने टेन्डर अरु कसैले खोसिएको छ। यो समयमा ऊ खुब उत्पात छ,उन्मत्त छ । म पुलबाट पनि हेर्न डराइरहेछु।

अँध्यारोले अाफ्नो रङ बढाउदै लगेपछि म पनि होटलतिर बतासिएँ।म पुग्दा ऊ अाइपुगेकी रहेछ।कुर्चिमा ज्यान थन्काएर ऊ मलाई खोज्न कतै पुगेकी हुँदी हो।म अर्को कूर्चीमा बस्न खोज्दा ऊ झस्किई।
ए, अाईपुग्यौ?- नाइँ,नदी किनारमै छोडिएको छु म त।

हाँसे म । ऊ हाँसिन। मलाई नमजा लाग्यो।एकछिनमा भन्छे - 'थाहा छ,तिमी यतै छोडिन्छौ भन्ने ।'
चिया अायो ।चुरोट अायो।

उसले चिया समाती।फेरि बिर्सेजस्तो गरेर चुरोट नै समाती। म हेरिरहें। मैले भनें- 'अाज एउटा नयाँ प्रयोग गरौं न ?'- 'कस्तो नयाँ प्रयोग ?'- 'म चुरोट प्युँछु । हजुर चिया प्युनुस्। '

उसले चिया तानेर अाफ्नो नजिक लगी।मैले चुरोट अाफूतिर तानें।चियाले सास फेरिरहेको छ,चुरोट जलिरहेको छ।

केही नबोलेर हामी बिस्तारै सेलाइरह्यौं चियाजस्तो । समय उडिरह्यो वाफजस्तो । मन जलिरह्यो चुरोटजस्तो !उसको अघि रहेको चियाले सास फेर्न छोडिएको छ । मेरो अघि रहेको चुरोटले एक्लै अाफूलाई अझै जीवित रहेको सावित गरिरहेछ ।

हामी मृत चिया र अर्धमृत चुरोटलाई सकुशल छोडेर निस्किन्छौं । सधैं जस्तो ऊ अलिक पर पुगेर चोकबाट भित्र पस्छे । म उभिरहन्छु। म उभिरहन्छु बिजुलीको खम्बाजस्तो । तर म अाफूमा कुनै चिम जलाउन सकिरहेको छैन । म अँध्यारो छु।
**

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send