durbar-times

विभक्ती- (भाग २)


विभक्ती- (भाग २)

-चैत २९ गते

किताबजस्तो औडाहा चीज अरु मलाई केही लाग्दैन।किताब किन्नु त मेरो धर्मले सरासर पाप भनिठान्छ।पढ्नु चाँहि म पाप धर्मसँग जोड्दिनँ।पढिहाले पनि दिनको दुई चार पेज पढ्छु ।जसमा एक दुई लाइन यस्ता वाक्य भेटिन्छन् जसले दुई चार दिन होहल्ला गर्छन्।मलाई पुगिहाल्छ।
ईन्द्रबहादुर राई -जिन्दावाद।
शंकर लामिछाने - जिन्दावाद ।

अल्लि पैले किताब बिमोचन कार्यक्रममा किताब बाँड्थे। म पनि भड्किएको दुखी आत्माजस्तो कताकताबाट भड्किएर ती कार्यक्रममा पुगेको हुन्थेँ। किताब दिन्थे। म लिएर हिड्थेँ। कार्यक्रम सकिएपछि कतै चिया खान बस्यो। चिया खायो। त्यो किताब त्यहीँ टेवलमा छोडेर हिँड्यो। केही पटक म यस्तै गरेको छु । खासमा यी सम्झनाहरु पनि यसै गरी चियाको रित्तो कप छेउछाउ छाडेर हिँड्न मिल्ने भए ?

यो गर्मी जसले पातका आङमा झुसिलकिरा बसेजस्तो यो शरीर ओइलाएर,मैलाएर चिलाएर खत्तम पारिसक्यो । दैनिकी झ्याल खोलेर सुरु हुन्छ झ्याल बन्द गरेपछि सकिन्छ । झ्यालको छेउछाऊ जिन्दगी घुमिरहन्छ । दिनमा कयौँपटक म झ्याल खोल्छु । पल्लो घरको झ्यालमा हरियाली छैन । बेला बेला एउटा बुढो रुख झ्यालनिरबाट सडकतिर हेर्छ । मेरा आँखा त्यो झ्यालमा बास बस्न सक्दैनन् ।आँखा अड्याउने ठाउँ पनि चाँहिदो रहेछ ।

कुन्नि कताको स्कूलको स्मारिका मेरो कोठासम्म सकुशल आइपुगेछ । जसले अचेल पंखाको काम गर्छ। बिस्तारामा पल्टिएर त्यही किताबले हम्किएर आफूलाई चिस्याउने काम गरिरहेछु म।

एउटा चुरोटको बट्टा किनेर सरासर म होटलतिर लागेँ। सोचेथेँ-आज चुरोट वालीलाई चुरोटको बट्टा नै उपहार दिन्छु । सोच्दैछु-कसरी दिने ? के भनेर दिने ? ऊ पड्किई भने ? ठूलै दुर्घटना भएर अतुलनीय क्षति भएर भोलिबाट चिया खाँदा चुरोटको धुँवा उडाउने मान्छे अगाडि भएन भने ? क्रमशः डरको आक्रमणमा परिसकेको छु म। होटलनिर पुगेपछि त मेरा पाउ पनि कम चल्न थाले। बल्लबल्ल भऱ्याङ चढेँ । ऊ आएर कुर्चीमा आफूलाई राखिसकिछ । चुरोट पनि मागिसकी छ । तर अझै जलाएकी रहेनछ।

सोधिहाली - 'किन ढिला आज ?'
भनेँ - 'लुगा धुन लाग्या थेँ ।'
ऊ हाँसी ।
भन्छे - 'अचेल राम्रा लुगा लगाउन थालिस्या छ त।'

म केही बोलिनँ । मेरो लुगा सितिमिति चेन्ज नै हुँदैन । र ऊसँग भेट भएपछि आजसम्म लगभग सधैँ एउटै लुगामा आएको छु । ऊ पनि लुगा खासै बदल्ने गर्दिरहिनछ ।

दुब्लो शरिर,खुल्ला लुगा । देवकोटाले यात्री कवितामा 'हाडहरूको सुन्दर खम्बा' यसैलाई देखेर लेखेका हुन सक्छन् । उसले लुगा लगाएको र ह्याङ्गरमा झुन्ठ्याएकोमा फरक देखिँदैन ।

चिया आयो । खाएँ । ऊसले चुरोटको फेद एष्ट्रेमा राखी । चुरोटको बट्टा उसलाई आज नदिने निर्णय गरिसकेँ मैले । आआफ्नो पैसा तिरेर तल आइपुग्यौँ हामी । छुट्टिनु अघि म केही सोध्नै आटेको थिएँ । यो सोध्ने भन्ने थिएन । बोल्नकै लागि जे सोधे पनि हुन्थ्यो । तर मभन्दा अघि ऊ बोली - 'हजुरको खल्तीको के हो ?'

छाती जोड जोडले चल्यो मेरो । मुटु निक्लिएर सडकमा पुगेर मलाई हेर्न थाल्यो । खुच्चिङ पारामा 'कल्ले चुरोट किन्न भनेको तँलाई ?आशयमा ङिच्च गर्यो । म खुब आत्तिएँ ।
अर्को पटक-के हो भन्नु न' भनेपछि मैले आत्तिदै भनेँ
-'मोबाइल! अँ मोबाइल हो।'

म आफै अचम्म परेँ । कसरी मोबाइल भन्न सकेँ भनेर । फेरि बोली ऊ-'हजुरको नं दिनुस् न ।'

अब मुटु सडकबाट आएर आफ्नो ठाउँमा बस्यो ।
मैले भनेँ - 'टिप्नुस् न ।'
'केमा टिपौँ ? मेरो मोबाइल छैन '- ऊ भन्छे ।यत्तिकैमा फेरि भन्छे - 'त्यो अर्को खल्तीको के हो नि ?'

मेरो मुटुले ठाउँ छाड्यो । म झल्यास्स ब्युँझिएँ।

म ब्युझिँदा पसिनाको आहालमा थिएँ । दिउँसो कस्तो सपना ? उठेर पानी खाएँ। किन डराएँ म ऊसँग ?खै ! मसँग उत्तर छैन।साँझ पर्नै आँटेछ ।

एक घन्टापछि-

खाना बनाएर खाइसकेपछि म फेरि चिया खान हिडेँ। सोचिरहेछु- 'यो सपना उसलाई सुनाऊँ ,नसुनाऊँ ?'


  • वैशाख ७ गतेको कुनै एकचोक्टा समय

क्षितिजमाथि पुगेको आकाशको जन्डिसग्रस्त एक्लो आँखाले पहाडका टाकुरामा हेर्नाले पहेँला भएका खोँचहरू मेरा आँखाले छरपस्ट देखिरहेछन्। दिनभरको घामले सेकिएका रुखले भर्खर आङ कन्याउने प्रयास गरिरहेछन् । पातहरू हल्लिनाले थाहा भैरहेछ कि धर्तीले सास फेर्न थाल्यो। यो दिन यस्तो थियो धर्तीले दिनभर सास फेरेन । म दिनभर आफ्नो पङ्खा नभएको कोठामा फनफनी घुमिरहेँ,पाकिरहेँ।

साँझ पर्ने क्रम जारी छ । यत्तिकैमा मेरो मोबाइल बज्छ । एकछिन खोज्छु भेटिदैन।खाटमुनि खसेको रहेछ । फोनमा पुरा घन्टी बजेर समाप्त भैसकेपछि मात्र म मोबाइल निकाल्न सफल हुन्छु । हातमा मोबाइल समातेको केही क्षणमा फेरि ऊ आफू बज्न थाल्छ । एकछिनमा फोन उठाउँछु म ।

  • नदी किनार आउनुस् ,म बुद्धको मूर्तिनिर नदीतर्फ फर्किएर बसेकी हुन्छु ।

म कानमै मोबाइल राखेर मनमनै भन्छु- चुरोटवाली ।

मानौँ यी शब्द एउटा कापीको पन्नामा लेखेर राखेकी थिई उसले । फोन उठ्नासाथ सरासर वाचन गरी ,अनि फोन राखी।थाहा छैन मैले 'हजुर' भनेको सुनी या सुनिन।

फोन नं लगेको एक्काइसौँ दिनमा फोन गरी । मलाई सुरुसुरुका चार दिनमा आश थियो फोन आउँछ । त्यसपछि आश पनि बतासले उडायो । र लाग्यो उसले नं टिपेको चिर्कटो पनि उडिसकेको छ हावामा,अथवा डुबिसकेको छ पानीमा।

म सुरुमा फूलका खुट्टाले कोठाबाट निस्किएँ र नदी किनार पुग्दा मेरा खुट्टा सिसाका भैसकेका थिए । वजनयुक्त। नदी किनार पुगेपछि उसले बताएको ठाउँनिर पुगेर एक्ली आइमाइलाई खोजेँ आँखाले । र भेट्टाएँ पनि ।

नदीतर्फ फर्किएर बालुवामा केही केरिरहेका हातलाई हेरिरहेका आँखालाई पछि छाडेर उडिरहेका केशलाई मेरा आँखाले केही निमेष नियालेर अघि बढे। नजिकै पुगेर म पनि केही केरेँ बालुवामा। पाँच मिनेट भैसक्दा पनि उसले कतै हेरिन। मलाई देखिन। कति मग्न छे यो आइमाई बालुवामा केर्न। मैले देखिरहेको छु उसले कोतरिरहेकी छ र मेटिरहेकी छ । कुनै निश्चित आकारको कुनै चित्र बनेको छैन ।मात्र कोतरिरहेकी छ, मेटिरहेकी छ। मेटिरहेकी छ,कोतरिरहेकी छ ।

नलागेको खोकी जबर्जस्ती खोकेर उसको ध्यान भङ्ग गरिदिन्छु । ऊ मलाई हेरेर हाँस्छे । ऊ हाँसेर मलाई हेर्छे ।

'कति बेला आइपुग्नु भो ?' - एउटा औपचारिकता निभाउँछे । म अझै ठूलो औपचारिकता मुखबाट जबर्जस्ती घचेट्छु -'भर्खरै !'

'नम्बर हराएको रहेनछ ।'

  • 'अँँ,हराएको रहेनछ ।'

'एककल फोनको भरमा आशा थियो म आउछु भन्ने ?'

  • 'बेरोजगार मान्छे,आउनुहुन्न भन्ने कुरामा विश्वास हुन सकिनँ । र आशा रह्यो आउनुहुन्छ भन्ने ।'

बेरोजगार शब्द गोटीवाला जुत्ता लगाएर मेरो छातीमा केही पटक दगुरेर निस्कियो । सत्य कुरा हो,म बेरोजगार हूँ । र नछुनु पर्ने बेरोजगार शब्दले । र पनि छोयो। यस्तै के के सोचेर बालुवामा नङले कोतरिरहेछु म ।अनायासै 'ब' लेखिन्छ।म विभक्ती लेख्न खोजिरहेको हैन । तर 'ब' लेखियो ।ऊ हेरिरहेकी छ । के सोचिहोला ? म झटपट केही लेख्न आँट्छु । त्यो भन्दा अघि ऊ बोल्छे - 'बेरोजगार लेख्न थाल्नु भा हो ?'

एक पटक जोडले हाँस्छे । नदीको पानी पनि जोडले बग्न थाल्छ । म एक डिकामै लेखिदिन्छु- 'बेकारछप्रेम ।'

ऊ फेरि हाँस्छे । भन्छे - 'हजुरलाई सत्य कुरा पनि लेख्न आउँदो रहेछ त।'

  • 'के लेखेँ र सत्य कुरा ?'
  • 'बेकार छ प्रेम।'

हामी दुबै हाँस्छौँ । उसलाई जिस्क्याउने क्रममा भन्छु - 'म पसल खोल्दै छु नि। सधैँ बेरोजगार कति बस्नु ।'

ऊ अर्कै आँखाले हेर्छे । मैले बेरोजगार शब्दमा जोड दिएको कुरा पनि थाहा पाउछे ।
अनि सोध्छे- 'के को पसल ?'
म भन्छु - 'चुरोटको पसल खोलूँजस्तो लागिरहेछ।'
अनि जबर्जस्ती हाँसिदिन्छु ।
ऊ पनि भन्छे - 'लागिरहेछ म पनि चिया पसल खोलूँ ।'

समय मौन रहेर पनि नदीजस्तो बगेर जान्छ । माथिबाट नदीमा तैरिदै डुब्दै गरेर आएको एउटा औषधिको सिसी तलतिर लाग्छ । लामो मौनता नटुङ्गिएपछि म मोबाइल निकाल्छु ।ऊ चितुवाले मृग लखेटेजस्तो मलाई कल्पनामा दौडाउछे । र आफै थाक्छे । अनि मेरो हातबाट मोबाइल भनौँ खोसेर नै भन्छे - 'फोटा हेरूँ न।'
म भन्छु - 'हजुरका फोटा छैनन् क्यारे ,नहेरे हुन्छ।'
ऊ ग्यालेरीमा पुगेर फोटा निकालिसकी।

फोटाहरू

नारायणी पुल-
सम्बन्ध जोड्न बनाइएका हुन् रे पुल। ती बीचमा पुगेका मान्छे सम्बन्ध तोडेर पारी जाँदैछन्।

सुन्धारा-
धरहरा यहीनिर थियो रे। अहिले खत मात्रै बाँकी छ। दुखाइ नभए खतको पनि याद नहुँदो रहेछ।

न्यू रोड -
नाम नयाँ राखेर सधैँ पुरानो गेटले स्वागत गर्छ। शिशिर बोकेका प्रेमिल पाइलाहरू बसन्तपुरतिर लम्किन्छन् यहीँबाट।बर्खा बोकेर फर्किन्छन् यहीँबाट भत्किएर,पुराना भएर। मन्दिरजस्तै।

गोरखा प्रकाशन-
बर्षौँदेखि रङ्गिन सपनाका बिज्ञापन छापेर, नतिजा छापेर पनि आजसम्म सादा नै रहेर उभिँदैछ।

बसन्तपुर-

(आँगन)
अचेल त यहाँ परेवा पनि छैनन्-एउटा अर्ग्यानिक मुखोच्चारित वाक्य। परेवाका नङ्ग्राले लेखेका गीतहरू क्रमशः कुल्चिदैछन् उसका र मेरा पाइतलाले।कयौँ टाउकाहरू हावामा यताउता फर्किरहेछन् ।ठिक दोब्बर खुट्टाहरू दायाँबायाँ चलिरहेछन्।

( हाइब्रेट मन्दिर)
भर्खर दुर्घटनामा परेर,काखीमा बैसाखी च्यापेर उभिएर स्यालको आवाजले ससंकित पोथी माउ कुखुराजस्तो शिर घुमाएर चारैतिर हेरिरहेछन्।

(ससाना मन्दिर)

भर्खर बाटोमा लडेर रुँदारुँदै दुखाइ बिर्सेजस्तो ,दुख्दादुख्दै रुन बिर्सिएजस्तो घरि घाउ हेर्छन् ,घरि बाटोमा हिड्नेलाई हेर्छन् । एउटै आशा बाँकी छ, कसैले मुसारिदियोस् घाउ,भनिदियोस्-मेलो बाबुलाई कल्ले यत्तो गलेको ? पाइया गल्ने है भोsssलि ! हिँड घर जाम् ! झि भएछ !

(एकजोडा प्रेमीहरू)

मन्दिरको काखमा बसेर ,आफ्नो कुइनाले अर्काको कुइनामा हान्दै ,कपाल तान्दै रोकिँदै बोलिरहेछन् -हेर त भत्किएर कति कुरुप भएछन् मन्दिरहरू !
-कुरुप भएकी नयाँ भए ? भत्किनु पनि त नयाँ हुनु हो। भत्किए पनि हेर्न आउनेको कमी छैन क्यारे !

फेरि भावुक पारामा प्रेमी बोल्छ-भत्किनेलाई कसैले सम्झिदैनन् ,भत्काउनेलाई सबैले सम्झिन्छन्।जस्तो-भूकम्प- भन्नै आँटेको हुन्छ ।
त्यो भन्दाअघि हल्का हाँसेर प्रेमिका बोल्छे-जस्तै म । तिमी मलाई  सम्झिरहन्छौ है।
त्यसपछि मुख बोल्दैनन् ,आँखा मात्रै बोल्छन्।

(हाम्रो क्याफे)
धेरैजसो हामी भएर भित्र पस्छन् ,बर्खा बनेर बस्छन् ,म भएर निस्कन्छन्।

म प्रत्येक फोटाको भाष्य गरिरहेको छु । ऊ घोरिएर हेरिरहेकी छ फोटा । मलाई क्रमशः डरले आक्रमण गरिरहेछ । नभन्दै उसले मोबाइलको स्क्रिनमा एउटा जोडी सेल्फी निकाल्छे । म केही बोल्दिनँ ,उसले केही सोध्दिनँ । एकपटक मेरो मुखमा हेर्छे। म पुरै निलो भैसकेको छु । एकछिनमा ग्यालेरी अफ गरेर बोल्छे ऊ- 'ला ! सात बजिसकेछ। अब जानु पर्छ ।'

मोबाइल मलाई दिँदै भन्छे - 'आज म आउन्न चुरोट प्युन। हजुर आउनुहुन्छ चिया प्युन ?'

म बोल्छु - खै !

हामी किनारबाट रोडतिर निस्किरहेछौँ । टक्क अडिएर ऊ सोध्छे- 'सेल्फीमा हजुरसँग हाँसेकी मान्छे को  हो ?'

मसँग उत्तर छैन ।अगाडि बाटो छ । हामी सरासर अघि  बढ्छौँ।

एकदिन दिदीले अलिक बाक्लो आवाजमा सोध्नुहुन्छ- 'त्यो मुनरिया भन्ने को हो ?'

म पातलो आवाजमा भन्छु- 'जिन्दगीको उत्तर पुस्तिकामा धेरै मेहनतले लेखेको गलत उत्तर हो मुनरिया।'

दिदी रिसलाई अंगालेर भन्नुहुन्छ- 'कि मलाई राम्रोसँग चिनजान गरा त्यो केटीसँग नत्र आजबाट मलाई अन्जान सम्झी।'
हामी बोल्दाबोल्दै मौन हुन्छौं। म एकछिनमा दिदीलाई बोलाउँछु- 'दिदी !'

दिदीले नमिठो आँखाले हेरेर भन्नुन्छ- 'म चिन्दिनँ तँलाई ।को होस् तँ? '
म झटपट बोल्छु- 'म बडो मेहनतले गलत उत्तर लेख्ने मान्छे । नतिजा पनि आइसक्यो । अझ भनुँ क्यारे म अनुत्तीर्ण छात्र।'

दिदीले एकछिन मेरो अनुहारमा हेर्नुन्छ। सायद केही भेट्नु हुन्न ।

फेरि कुनै दिन साथीले सोध्छ उही प्रश्न-  'मुनरिया को हो ?'
म गम्भीर मुद्रामा भन्छु- 'बहुत मन परेको तर भाइरस पसेको गीत हो मुनरिया। डिलिट गर्न सक्दिनँ ,मोबाइल ह्याङ हुँदा भने बहुत नमज्जा लाग्छ ।' क्रमश....

कथाकाे बाँकी अंश अर्काे हप्ता प्रकाशित हुनेछ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send