जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !


जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !

बालुवाटारकाे ६५ इन्च टिभीमा कमेडी शाे चलिरहेको बेला धार्मिक विज्ञापन आयाे । टिभी हेरिरहेका ओलीबा झसङ्ग भए । अहाे ! हाे त है, जलमा पनि विष्णु, स्थलमा पनि विष्णु, जता पनि विष्णु नै विष्णु रहेछन् तर मेराे क्याबिनेटमा मात्रै विष्णु छैनन् । कसरी डाकाैँ ? कुन मन्त्रले आवाहन गराैँ ? फेरी, कम्युनिस्ट भइ टाेपलेकाे छु ! धर्ममा आस्था राख्नु त कम्युनिस्ट सिद्धान्त विपरीत हाे । सपनामा आएर कार्ल माक्सले हँसिया हथाैँडा उचालेर "तेरीमा कुलाङ्गार !" भनेर डँडेल्नाेमा बजाई दिए भने त दुहाई हुन्छ । भाग्नु कता ? जवाफ के दिनु ? हैट तनाव !

बुढाकाे रक्तचाप बढ्याे ।

तुरुन्त सल्लाहकारलाई डाके । प्यूठानी थापाकाजी खाेपीमा टुप्लुक्क प्रकट भए । "आऊ सूर्जे ! मलाई सल्लाह चाहियाे !" - ओलीबाले भने । "अहाे ! प्रभुले सम्झिनुभयाे ! मेराे अहाेभाग्गे !!" - थापाकाजी कृतकृत्य भए ।

"काजी ! सबभन्दा पहिला, सूर्ती माेलेर कडक बनाऊ त, एक फ्वाँक चाँपिहालाैँ !" - बाले आदेश गरे । "ज्यू ! चूना हालेर माड्दै आइरहेकाे छु ! च्याँपिहाल्नाेस् !" - काजीले सुर्तीसेवा गरे ।

ओठ लफ्य्राक्क पारेर खैनीकाे लूँडाे माथिल्लो ओठकाे मुनिपट्टी च्यापेर थुथु गरेपछि ओलीबाले भने - "हेर केटा ! याे संसारै विष्णुमय रहेछ । जता नि विष्णु रहेछन् तर हाम्राे क्याबिनेटमा विष्णु छैनन्, विष्णु नभएको क्याबिनेट खल्लाे भाे ! विष्णुकाे उपस्थिति चाहियाे ।"

थापाकाजी टाेलाए । एकैछिन् साेचे अनि भने - किन चिन्ता प्रभाे ! विष्णु पाैडेललाई च्याप्प समातेर मन्त्री पद भिडाइहालाैँ न ! धेरै भयाे, खस्ला र खाउँला भन्ने स्यालजस्तै रियाल चुहाएर बसेका हाेलान् ! बटाैली बसाइँ सरेर गए पनि मान्छे स्याङ्जाली हुन् ! उल्टाे पाल्टाे सबै कला जान्दछन् ! पेलाैँ प्रभाे !"

हउ लाखे ! - ओलीबा आश्चर्यचकित भए । "अहाे ! याे कुरा त दिमागमै छिरेकाे थिएन त यार ! कता कता साेच्न भ्याउनु याे बुढाे दिमागले ? धन्न तँ छस् यार केटा !" - ओलीबाले थापाकाजीकाे बखान गरे ।

"ल भन् केटा ! विष्णुलाई ल्याउन कसलाई फाल्ने त ? माओवादी फालाैँ भने, सरकार ढाल्ने पीर । एमालेकै फालाैँ भने, नेपाल गुटमा जाला भन्ने पीर ! मन्त्रालय फाेराैँ भने, जनता भड्केलान् भन्ने पीर ! कसलाई फालाैँ ?"
" पख्नाेस् हजुर ! म साेच्छु एकछिन् !"
"ल साेचेर भन् त छिटाे !"
"यसाे गराैँ प्रभाे !"
"कसाे गर्ने हाै, विष्णुले गरिखान सक्ला त ?"
"किन चिन्ता प्रभाे ! वालुवाटारकाे जग्गा त सेटिङमा खाइदिए, जाबाे मन्त्रीपद किन खान नसक्नु ? अनि काम पनि खासै के हुन्छ र ?"

अनि, ईश्वरलाई के गर्ने त ?

नाकमा औँलो  घुसारेर काजी साेचमग्न भए । एकछिन पछि,

"अख्तियारकाे अलि बढी दुरुपयोग गरेकाे भनेर ईश्वर पाेखरेलसँग सेनाका जर्साप कर्सापहरू रिसानी भएकाे छ, उहाँहरूलाई फकाउनु छ । पाेखरेललाई हटाऊँ !" - काजीले भने ।

"रक्षामन्त्रालय खुस्किँदा ईश्वरे रिसाएर खड्ग बज्र लिएर मलाई काट्न आउँछ केरे नि ! त्यस्तालाई चलाउन हुुन्न केटा !" - ओलीबाले प्रतिवाद गरे ।

"प्रभाे ! उनलाई रक्षाबाट घाेक्रे लगाएकाे भन्ने भान पार्नु पाे भएन त, उपप्रधानमन्त्री बनाएकाे भन्दिए त उनका पनि हड्डी हाँस्छन् नि ! काम न धाम ! बसिबसी माम ! अलि बढी मात्तिएर २० रुपियाँकाे मास्क ५२ मा किनेछन् ! के नपुग्दाे थियाे र ?" - काजीले सुध्याए ।

"विष्णुलाई कुन मन्त्रालय दिम् त केटा ?" - ओलीबाले साेधे ।
"बजेट पास भइसक्याे, अरु खासै काम केही हुँदैन । असार लागेपछि अर्काे मान्छे हेराैँला, अहिले अर्थ न बर्थकाे अर्थ मन्त्रालय भिडाइदिउँ प्रभाे ! विष्णुलाई लक्ष्मी नै सुहाउँछिन् ! नाम नै विष्णु ! बालुवाटारकाे जमीनमा राज गरिहाले, अब देशकी लक्ष्मी पनि सुहाउन् साथमा !" - काजी धार्मिक भए ।

हैट, धपडी !!
ओलीबा प्रसन्न भए । ठूलाे समस्या टर्याे । लामाे सास फेरे । किड्नी भएको ठाउँ छामे । किड्नीले all is well भन्याे। यता सल्लाह मिल्याे । ईश्वरकाे ठाउँमा विष्णु राख्ने कुराे भाे ।

त्रिलाेकाधिपति विष्णु नसके पनि, स्याङ्जाली विष्णु क्याबिनेटमा पर्ने भए भनेर ओलीबा गद्गद भए । उखान टुक्का सिलाेकका जघन्य ज्ञाता ओलीबाकाे मुखबाट सिलाेक निस्कँदा भया  -

जले विष्णु थले विष्णु विष्णु नै क्याबिनेटमा !
………………


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...