काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारबाट दाङको लमही क्रिकेट मैदानमा सुरू हुने भएको छ।
सात प्रदेशका टिम र सशस्त्र प्रहरी बलको एपिएफसहित आठ टोलीको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउट प्र्रणालीमा हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा एपिएफसँगै प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूर पश्चिम प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ परेका छन्।
प्रतियोगिताको पहिलो दिन लुम्बिनी र प्रदेश २ तथा एपिएफ र कर्णालीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। यही पुस १९ गतेसम्म चल्ने प्रतियोगिताको सेमिफाइनलमा दुवै समूहका शीर्ष दुई टोली प्रवेश गर्नेछन्। सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता तथा समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताले प्रतिस्पर्धा गर्नेछन्।
दाङमा महिलाको प्रतियोगिता सम्पन्न भएपछि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता हुने नेपाल क्रिकेट संघले जनाएको छ।