टिकट खरीदमा आकर्षक उपहारसहित यतीले सुरु गर्‍यो सिमरा उडान


टिकट खरीदमा आकर्षक उपहारसहित यतीले सुरु गर्‍यो सिमरा उडान

काठमान्डौ | यती एयरलाइन्सले आजदेखि सिमरा उडान सुरु गरेको छ । २२औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि आजदेखि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो। यो यतीको नवौं र प्रदेश २ मा दोस्रो गन्तव्य हो ।

एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सतर्कता अपनाएर आजबाट सिमरा उडान सुरु गरिएको बताए । उनले भने, 'आज ९एन–एआईएच कल साइन भएको जेटस्ट्रिम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेका छौँ र दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ, अब सिमरा नियमित रुपले दैनिक २ उडान हुनेछन् र यात्रुहरुको माग भए उडान संख्या थप गर्न सकिनेछ।’

यतीले काठमाडौँ– सिमरा–काठमाडौँको लागि सुरुवाती भाडा १ हजार ९९९ रुपैयाँ तोकेको छ । यो भाडा असोज २२ देखि लागू हुनेछ र यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । यतीले हाल ट्राभल एजेन्सीहरु र मोबाइल एप्स मार्फत टिकट खरीद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजना समेत अघि सारेको छ ।

यती एयरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगन्‍ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...